सोमबार १६ औं गणतन्त्र दिवसको अवसरमा कैदमुक्त भएका रेश्मले अन्य कैदीवन्दी छुटाउन पहल नगरेको भन्दै नभेट्ने बताएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेश्मलाल चौधरीलाई सरकारले आइतबार कैदमाफी दिने निर्णय गरेसंगै सोमबार उनी कैदमुक्त भएका छन् । कैदमुक्त भएसंगै रेश्म बर्दियाहुँदै धनगढी आउने कार्यक्रम रहेको छ । नेता लक्ष्मण थारुले भने –‘सोमबार काठमाण्डौबाट बर्दिया आउने र भोली (मंगलबार) धनगढी पुग्ने कार्यक्रम रहेको छ । धनगढीस्थित कैलाली कारागारमा रहेका कैदीबन्दीलाई भेट्ने छन् ।’
सोही घटनामा कारागारमा रहेका हरिनारायण, प्रदिप र बिरबहादुर चौधरी कैलाली कारागारमा रहेका छन् । उनीहरुले सरकारमा रहँदा समेत आफुलाई मात्र कैदमाफी गराएर कैदमुक्त भएको भन्दै नभेट्ने प्रतिक्रिया दिएको परिवारका सदस्यहरु बताउँछन् । प्रदिपकी दिदि रञ्जिताले भनिन –‘आज भाइ पनि कैदमुक्त हुँदैछ भन्ने सुनेको थिए । विहान फोन गर्दा नछुट्ने प्रतिक्रिया पाए । नेता रेश्मले आफुलाई मात्र कैदमाफि दिलाई कैदमुक्त भएको हुँदा भेटघाट नगर्ने भनेका छन् ।’ टीकापुर घटनामा दोषी ठहर भएका नाबालक पोखरा सुधारगृहमा छन् ।
रेश्मलाईमात्र सरकारले कैदमाफी दिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटनाका कैदीहरुले नभेट्ने प्रतिक्रिया दिएका छन् ।
पहिचान र थरुहट राज्यको माग गर्दै थरुहट÷थारुवान संयूक्त संघर्ष समितिले अहिले पनि आन्दोलित छ । टीकापुर घटनालाई राजनीतिक घटना बनाउनुपर्ने, राजवन्दीलाई निस्वार्थ रिहाई गर्नुपर्ने, पहिचान र अधिकार सहितको थरुहट प्रदेश बनाउनुपर्ने अहिले पनि थरुहट नेताहरुको माग रहेको छ ।
थरुहट÷थारुवानका नेता माधव थारुले रेश्मको रिहाइमा टीकापुर घटनाको कुनै संलग्नता नरहेको बताउँछन् । उनले भने –‘यो सरकारको निर्णय हो । यसमा म केही भन्दिन । उहाँको पार्टी सरकारमा रहेकाले उहाँले रिहाइ पाएका हुन् ।’
उनले सरकारले टीकापुर घटनाको निष्पक्ष छानविन हुनुपर्ने बताए । ‘लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न सरकारसंग माग गर्दा पनि सुनुवाइ भएको छैन् । थारुहरुलाईनै दोषि देखाउने गरि जिल्ला, उच्च र सर्वोच्च अदालतको फैसला भएको छ । प्रतिवेदनप्रति न्यायिक निकायले ध्यान नदिइ निर्णय गरेका छन् ।
२०७२ भदौ ७ गते आन्दोलनले उग्ररुप लिँदा हिँसात्मक बनेको थियो । एक नाबालकसहित आठ जना सुरक्षाकर्मी सो आन्दोलनमा मारिएका थिए ।
Leave a Reply