धनगढीमा घरजग्गा किनबेचमा उछाल, चैतमा एक हजार १८ लिखत पारित

धनगढीः चर्को ब्याजदरकै बीच २०७९ सालको अन्तिम महिना चैतमा घरजग्गा कारोबारमा उछाल आएको छ। चैतमा कैलालीको धनगढीमा एक हजार १८ लिखत पारित भएको छ। जुन पछिल्लो १० महिनायताकै धेरै हो।

स्थानीय तहहरुले जग्गाको वर्गीकरण गरेर कित्ताकाट खुला हुन थालेपछि घरजग्गा किनबेच पनि बढ्न थालेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ। असारयता सबैभन्दा बढी घरजग्गा कारोबार चैतमा भएको हो। बैंकमा तरलता अभाव हुन थालेपछि थलिएको घरजग्गा कारोबार दशैं–तिहारपछि निरन्तर बढिरहेको थियो।    पछिल्लो समय बैंकमा तरलता सहज हुनुका साथै ब्याजदर पनि घट्न थालेको छ। कतिपय बैंकले १२ प्रतिशत ब्याजदरमै घरजग्गा कर्जा उपलब्ध गराउने स्किम ल्याउन थालेको देखिन्छ। आगामी दिनमा घरजग्गा कारोबार थप बढ्न सक्ने राष्ट्र बैंकको अनुमान छ।घरजग्गामा कर्जा अपेक्षाकृत रुपमा बढ्न नसकेपनि घरजग्गा बढ्नुमा कित्ताकाट खुला हुँदै जानु हो। विस्तारै तरलता सहज हुँदै गइइरहेको छ।

पछिल्लो समय कृषि र गैरकृषि भूमि वर्गीकरण गर्ने पालिका बढेपछि कित्ताकाट पनि बढ्न थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतले पुरानै स्थितीमा कित्ताकाट खुलाउने बताइसकेका छन्। यदि तरलता सहज भएर कर्जाको ब्याजदर घट्ने हो र कित्ताकाट खुला भएमा घरजग्गा कारोबार पुरानै लयमा फर्किने निश्चित देखिन्छ।   चैतमा कैलालीको धनगढीबाट एक हजार १८ घरजग्गाको लिखत पारित भएको भूमि विभागको तथ्यांक छ। धनगढी देशभर बढी घरजग्गाको लिखत पारित हुने सुचीभित्र परेको छ। धनगढी उपमहानगरभित्र पछिल्लो समय घरजग्गाको कारोबार क्रमिक रुपमा बढ्दै गएको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *