धनगढीकी डाक्टर शाह मृत्यु प्रकरणः यस्तो छ भित्री कथा

धनगढीः धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत जाईकी डाक्टर प्रशन्ना शाह आफ्नै घरमा विहीवार मृत फेला परिन्। भारतको बङ्गलोरबाट दुई वर्ष अगाडि एमविवीएस फिजियोथेरापीको अध्ययन गरेकी डाक्टर शाह दुई वर्षदेखि नै मायामेट्रो अस्पतालमा कार्यरत थिइन्।

सेवा निवृत्त सशस्त्र प्रहरी उपरीक्षक पिताका दुई सन्तानमध्ये कान्छी शाहको केही महिनापछि भारतको देहरादुनबाट एमडी अध्ययन गर्ने योजना थियो। तर, एमडी गर्ने योजना बुन्दै गर्दा उनले आफ्नै ज्यान गुमाउने निर्णय लिनुपरेको छ। जुन घटनाले परिवार र आफन्त मात्रै होइन डाक्टर शाहले २६ वर्षमै मृत्यु स्वीकार गर्नुपर्ने कारण बारे थाहा हुनेहरू स्तब्ध भएका छन्

प्रेम सम्बन्धमा थिइन् डाक्टर शाह
पारिवारिक स्रोतका अनुसार डाक्टर शाह र धनगढीका युवक विकल केसीको पहिल्यैदेखि प्रेम सम्बन्ध रहेको थियो। केसीको परिवारले पनि दुबै जना प्रेम सम्बन्धमा रहेको स्वीकार गरेका छन्। तर, गत फागुनदेखि भने डाक्टर शाह र केसीको सम्बन्ध टुटेको दुबै परिवारले बताएका छन्। केसी सडक दुर्घटनामा परेपछि दुबैको भेटघाट र कुराकानी हुन छोडेको शाह र केसीका आफन्तले बताएका छन्।

सानैदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने योजना शाह र केसीको रहेको बुझिएको छ। डाक्टर शाहले भागेर विहे गर्ने र विदेशमा सेटल हुने प्रस्ताव राख्दा केसीले धनगढीमै व्यवसाय गर्ने भएकाले भागेर विवाह गर्ने र विदेश जान नसकिने बताएका थिए। घरमा विवाहको प्रस्ताव लगेर जान्छु भन्दा डाक्टर शाहले दाइले पनि अन्तरजातीय विवाह गरेको मैले पनि अहिले नै अन्तरजातीय विवाह गर्छु भन्दा समस्या हुने बताएपछि विकलको परिवारले विहे गर्न नसकिने ठानेर अर्को केटी खोज्ने मनसाय बनाएको बताएका छन्।

डाक्टर शाह विकल केसीसँग प्रेम सम्बन्धमा छिन् भन्ने थाहा पाएका मायामेट्रो अस्पातलमै फिजियोथेरापी विभागमा कार्यरत डाक्टर सन्दिप भट्टराईलाई थियो। विकल केसी दुर्घटनामा परेको मौका छोपेर भट्टराईले शाहसँग सम्बन्ध बनाएको शाहको परिवार र अस्पताल स्रोतले दाबी गरेको छ।

सहकर्मी डाक्टरले नै उठाए नाजायज फाइदा
सहकर्मीहरूका अनुसार डाक्टर सन्दिप भट्टराई केटी भनेपछि हुरुक्कै हुने र यौनको मामलामा निकै कमजोर व्यक्ति हुन्। उनको प्रेम सम्बन्ध अर्कै केटीसँग हुँदाहुँदै विभिन्न तरिका र थरीथरीका दबाब दिएर भट्टराईले शाहसँग देखावटी प्रेम गरेको सहकर्मीले बताएका छन्।

विकल केसीको अनुपस्थितिमा मनोवैज्ञानिक डर, त्रास र प्रलोभन देखाएर डाक्टर शाहलाई भट्टराईले आफ्नो कब्जामा लिएको सहकर्मीहरूले प्रहरीसँगको बयानमा पनि बताएको दाबी गरिएको छ। विकल केसीसँगको सम्बन्ध थाहा पाएर त्यो सम्बन्ध टुङ्ग्याउन पनि भट्टराईले भूमिका खेलेको हुनसक्ने शाहको परिवारले बताएको छ। भट्टराईले विभिन्न खाले धम्की दिने, झगडा गर्ने, अनेक प्रकारले माया दर्शाउने जस्ता  उपाय अपनाएर डाक्टर प्रशन्नालाई ६ महिनादेखि आफ्नो नियन्त्रणमा लिएको अस्पतालमा कार्यरत चिकित्सकले बताएका छन्। भट्टराईले विकलको मोबाइल नम्बर ब्लक गर्न लगाएका सहर्कीले बताएका छन्।

‘डाक्टर शाह र भट्टराई अस्पतालमै झगडा गर्थे’
डाक्टर शाहलाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएर शोषण गरिसकेपछि केही महिनादेखि दुबैको झगडा हुन थालेको अस्पताल स्रोतले बताएको छ। तर शाहको परिवारमा भट्टराईसँगको सम्बन्ध बारे भने कुनै जनाकारी थिएन। छोटो समयमै निकटको सम्बन्ध कायम गरेर भट्टराईले शाहको शोषण गरेको सहरर्मीहरूले बताएका छन्। डाक्टर शाहलाई भट्टराईले सुरूमा जबरजस्ती प्रेममा पारेका थिए भने स्वार्थ पूरा गरेपछि इग्नोर गर्न थालेका थिए। जसको कारण ड्युटीमै रहेको समयमा दुबै जनाको झगडा पर्ने गरेको सहकर्मीले बताएका छन्।

प्रेम र ब्रेकअपले निम्त्यायो मृत्यु
जेठ १ गते डाक्टर शाहको जन्मदिन परेको थियो भने असार ८ गते दाईको विवाह हुने तय भएको थियो। शुक्रवार डाक्टर शाहको आमासँगै दाइको विहेका लागि सामान किन्न पलिया जाने योजना थियो। घरमा कुनै समस्या छ नभनेकी शाह विहान हेर्दा भने मृत फेला परेकी थिइन्।

पूर्व प्रेमी विकलको परिवारमा केटी खोजेर विहे गर्ने चर्चा चल्न थालेपछि जेठ १ गते जन्मदिनको अवसर पारेर शाहसँग कुरा फाइनल गर्ने पक्षमा केसी रहेका थिए। तर डाक्टर भट्टराईले शाहलाई केसीसँग भेट गर्नै नदिएको अस्पताल स्रोतको दाबी छ। विकल केसीले अन्तिम कुराकानी गर्न अस्पतालको ल्यान्डलाइनमका पनि पटकपटक फोन गरे पनि कुराकानी भने नभएको केसीको परिवारले बताएको छ।

भट्टराईले ब्याकमेलिङ गरेको परिवारको आशंका
‘यौनको मामलामा निकै कमजोर र केटी खेलाउने स्वभावका’ भट्टराईसँग डाक्टर शाहले विवाह गर्न चाहेको तर भट्टराईले इन्कार गरेको आशंका गरिएको छ। पहिलो प्रेमबाट टाढा बनाउने उपक्रम रचेका भट्टराईले आफूलाई ‘युज एण्ड थ्रो’ गर्न खोजेको भनेर सहकर्मीहरूसँग डाक्टर शाहले गुनासो गर्ने गरेको बताइएको छ। प्रेममा धोका र बदलामा ब्ल्याकमेलिङ र टर्चर सहन गर्न नसकेर डाक्टर शाहले मृत्यु रोजेको हुनसक्ने अनुमान सहकर्मी र परिवारजनले गरेका छन्।

प्रहरीमा पूर्व प्रेमी आफैं गए, वर्तमान प्रेमी अझै फरार
पूर्व प्रेमी विकल केसी र वर्तमान प्रेमी डाक्टर सन्दिप भट्टराई विरुद्ध शुक्रवार परिवारले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेका छन्। मुद्दा दर्ता भएसँगै पूर्व प्रेमी केसी आफैं प्रहरीको सम्पर्कमा गएका छन् भने भट्टराई भने फरार छन्। डाक्टर शाह मृत्यु प्रकरणमा मुख्य दोषी भट्टराई रहेको भन्ने बयान लिइ सक्दा पनि कैलाली प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन।

प्रहरीले भने भट्टराई खोजी भइरहेको र उनको भिनाजुसँग सम्पर्कमा रहेको जनाएको छ। शाहको परिवारले भने केसी र भट्टराईका कारण छोरीले मृत्यु रोजेको बताएका छन्। परिवारले भने केसी र भट्टराई माथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। तर, प्रहरीले भने भट्टराईलाई प्रकाउ गर्नै सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *