कञ्चनपुरको दक्षिणी क्षेत्रका नागरिक बाघको त्रासमा

धनगढीः कञ्चनपुरको दक्षिणी क्षेत्रका नागरिक बाघको त्रासमा छन्। भारतको दुधुवा टाइगर रिजर्वबाट बाघ नेपाली बस्तीमा आउन थालेपछि उनीहरु त्रासमा छन्। पछिल्लो दुई हप्तादेखि जिल्लाको पुनर्वास र बेलौरी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा दैनिक बाघ देखिन थालेको हो।

गत साता दुधुवामा घाँसदाउराका लागि गएकी पुनर्वास नगरपालिकाकी २३ वर्षीया कलसा सार्कीको बाघको आक्रमणबाट मृत्यु भएको थियो। अन्य महिलाले भागेर ज्यान जोगाएका थिए। त्यसको तेस्रो दिन भारततर्फ एक पुरुषको पनि बाघकै आक्रमणबाट मृत्यु भएको थियो। त्यसयता पुनर्वास र बेलौरीमा दिउँसै नियमित बाघ देखिइरहेको स्थानीयले बताएका छन्। सो क्षेत्रमा दिउँसोसमेत एक्लै हिँड्न डराउनुपर्ने अवस्था आएको स्थानीयले बताएका छन।  टाइगर रिजर्वसँग जोडिएको बेलौरीको वैशाखा, फटिया, बिनापुरीलगायत क्षेत्रमा दिनहुँ बाघ देखिन थालेको हो। रातिको समयमा बाहिर हिँडडुल नगर्न नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले नगरपालिकाले सूचना सार्वजनिक गरेको बताए। उनले भने, ‘धेरै ठाउँमा बाघ देखिएको छ। रातिको समयमा हिडडुल नगर्न भनेका छौँ। हमीले सूचना पनि निकालेका छौँ। दिउँसो पनि एक्लै नहिड्न भनेका छौँ। तर,वनका कर्मचारीसँग कुनै छलफल भएको छैन।’ कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखुबारी छन्। तिनै उखुबारीबाट बाघ बस्तीमा आउने गरेको छ।

पुनर्वास नगरपालिकाको सहिद गौतम चोक, क्षेत्रको नमुना सामुदायिक वन क्षेत्रमा बाघ देखिएको छ। दुधुवाबाट लालझाडी–मोहना करिडोर भएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म वन्यजन्तु ओहोरदोहोर गर्दै आएका छन्। करिडोर अतिक्रमणमा परेका कारण बाघ, हात्तीलगायत वन्यजन्तु बस्तीमा पसेर धनजनको क्षति हुँदै आएको बताइन्छ। डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले रेडियो कलर नजोडिएको बाघ सीमा क्षेत्रमा देखिने गरेको बताए। उनले भने, ‘डमरुसहितको बाघ पनि देखिएको छ। बाघले मान्छेपनि खाएको छ। यहीँ बाघले मान्छे खाएको हो वा अरु नै हो भन्ने जानकारी छैन। सब डिभिजनले सूचना निकालेको छ।’ उक्त क्षेत्रमा देखिएको बाघ दुधुवाबाट आएको हुन सक्ने अवस्थीले बताए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *