चर्को मूल्यवृद्धिको मारमा उपभोक्ता

धनगढी । बजारमा अत्यावश्यक वस्तु तथा सेवामा चर्को मूल्यवृद्धि भएको छ। उत्पादक, बिचौलिया, आयातकर्ता, थोक बिक्रेता र खुद्रा व्यापारीले आफूखुसी तहतहमा मूल्य बढाउँदा अत्यावश्यक वस्तु खरिदमै उपभोक्ता महंगीको मारमा पर्ने गरेको उपभोक्ताहरू बताउँछन्।

अहिले अत्यावश्यक वस्तु दाल, चामल, खाने तेल, तरकारी लगायत दैनिक भान्सामा प्रयोग हुने वस्तुको मूल्य चर्को वृद्धि भएको छ। यसरी मूल्य चर्को हुँदा आमउपभोक्ताले किनेर खान नसक्ने दिन नआउला भन्न सकिन्न।

तर, सरकार अत्यावश्यक वस्तु वा सेवाको मूल्यवृद्धि रोक्नेबारे मौन छ। मूल्यवुद्धि रोक्न सरकारका मातहतका न कुनै निकायले अनुगमन गर्छ, न त नियमन नै। उत्पादन बढाउन सरकारले अनुदान दिएर प्रोत्साहन गर्नु पर्ने तर, उल्टै व्यापारी र बिचौलियालाई मूल्य बढाउन उक्साउने गरेको उपभोक्ता अधिकारकर्मीको आरोप छ।

किराना व्यवसायी खगेन्द्र बोगटीका अनुसार व्यापारीहरूले फरक–फरक ब्राण्डका खाद्यान्न बिक्री गर्ने हुँदा ब्राण्ड अनुसार मूल्य फरक पर्ने गरेको बताउँछन्।  खाद्यान्न लगायतका वस्तुको मूल्य खुद्रा व्यापार संघले तोक्ने गर्दछ। तर, खुद्रा व्यापार संघको मूल्य एक प्रकार र खुद्रा व्यापारीहरूको मूल्य फरक हुने पाइन्छ।

एउटै खाद्यान्नलाई विभिन्न ब्राण्ड दिएर चर्को मूल्य असुल्ने गरेको उपभोक्ता हरी रेग्मीले बताए। ‘सरकारले सम्पूर्ण खाद्यवस्तुको मूल्य निर्धारणमा बेवास्ता गर्नाले विभिन्न कम्पनीले एउटै खाद्यवस्तुको आफूखसी मूल्य राखेर असुल्ने गरेका छन्। यसले गर्दा आम उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। यसप्रति सरकारको ध्यान जावस्। खाद्यान्नको मूल्य सरकारले निर्धारण गर्नुपर्छ र विभिन्न बहानामा मूल्यवृद्धि गर्न कम गरिनु पर्छ,’ उनले भने।

२० देखि दुई सय रुपैयाँसम्म बढ्यो दुग्ध पदार्थ
यतिबेला दूधको मूल्य लिटरमा २० रुपैयाँ बढेको छ। पहिला सरकारी स्वामित्वको दुग्ध संस्थानले स्ट्यान्डर्ड दूध प्रतिलिटर ८६ रूपैयाँमा बिक्री गर्दा नीजि डेरीहरूले प्रतिलिटर एक सय रूपैयाँमा बिक्री गर्ने गर्थे। अहिले डीडीसीको उक्त दूधको मूल्य प्रतिलिटर ९७ रूपैयाँ पुग्दा नीजि डेरीहरूले प्रतिलिटर १२० रूपैयाँ  पुर्‍याएका छन्।

दहीको मूल्य प्रतिलिटर २५ रूपैयाँले बढेर प्रतिलिटर १९० रुपैयाँ पुगेको छ। पनिरको मूल्य प्रतिकिलो ४० रूपैयाँले बढेर ८४० रुपैयाँ र घिउको मूल्य प्रतिकिलो दुई सय रूपैयाँले बढेर १ हजार तीन सय रूपैयाँ कायम भएको छ। बटरको मूल्य प्रतिकिलो १५० रूपैयाँले बढेर प्रतिकिलो एक हजार रूपैयाँ पुगेको छ।

यस्तै, डीडीसीको दूधको मूल्य पनि दूधको प्रकार अनुसार लिटरमा १० रूपैयाँदेखि १६ रूपैयाँसम्म बढेको छ। जसअनुसार प्रतिलिटर ९७ देखि १३० रूपैयाँसम्म पर्ने भएको छ।

बोरामै २ सय देखि ६ सय रूपैयाँसम्म बढ्यो चामल
भान्सामा सर्वाधिक खपत हुने मध्येको एक, चामल हो। जसमध्ये नेपालीको भान्सामा जीरा मसिनो, त्रिशुलीको पोखरेली चामल, लङग्रेन बासमती चामल, स्टिम सोना मन्सुली चामल पर्दछन्। उक्त चामलमा अहिले बजारमा निकै चर्को मूल्यवृद्धि भएको पाइन्छ।

तीन महिनाअघिको मूल्यमा अहिले बोरामा २ सय रूपैयाँदेखि ६ सय रूपैयाँसम्म मूल्यवृद्धि भएको छ। तीन महिनाअघि ३० केजीको सोना मन्सुली चामल प्रतिबोरा १५ सय देखि १६ सय रूपैयाँ थियो। अहिले उक्त चामलको मूल्य प्रतिबोरा १७ सयदेखि १८ सय रूपैयाँसम्म पर्छ।

तीन महिनाअघि २५ केजीको एक बोरा जीरा मसिनो चामल १६ सय ५० रूपैयाँदेखि दुई हजार रूपैयाँसम्म पर्थ्यो भने अहिले बजारमा उक्त चामलको मूल्य २२ सय रूपैयाँदेखि २५ सयसम्म पुगेको पाइएको छ।

तीन महिनाअघि २५ सयदेखि २८ सय रूपैयाँमा बिक्री भएको लङग्रेन बास्मती चामलको मूल्य अहिले तीन हजारदेखि ३२ सयसम्म बिक्री हुने गरेको पाइएको छ। उक्त चामल बोरामा २० केजीको तौल भएको बजारमा पाइन्छ।

त्यस्तै, त्रिशुलीको पोखरेली चामल तीन महिनाअघि प्रतिबोरा २४ सय रूपैयाँदेखि २६ सय रूपैयाँ पर्थ्यो भने अहिले २९ सयदेखि ३१ सयसम्म पुगेको छ।

डेढ सयसम्म बढ्यो दालको मूल्य 
दालमा भने पाँच वर्षको अन्तरालमा दोब्बरले बढेको पाइएको छ। पाँच वर्षअघि प्रतिकेजी एकसय हाराहारीमा पाइरहेको दालको मूल्य अहिले प्रतिकेजी डेढ सय माथिसम्म पुगेको छ।

२०७५ को फागुन महिनामा मासको दाल एक केजी खरिदका लागि ११० रुपैयाँ र मुसुरको दाल एक केजीको ९० रुपैयाँ पर्थ्यो। तर, अहिले सोही मास दालको मूल्य प्रतिकेजी १९० रुपैयाँ र मुसुरको मूल्य प्रतिकेजी १७० रुपैयाँ पुगेको छ। सोहीअनुसार अन्यदालमा १० रुपैयाँदेखि ६० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ। अहिले  मुङ खोस्टा १७०, मुङ छाटा २००, रहर दाल तथा चना दालको मूल्य १४० रूपैयाँ पुगेको छ।

पिठोको मूल्य दोब्बरले बढ्यो
भारतले गहुँ आयातमा प्रतिबन्ध गरेसँगै मैदा र आटाको मूल्य ह्वात्तै बढ्यो। अहिले कोटा प्रणालीबाट आयात हुन थालेपछि खुद्रा व्यापार संघले मूल्य घटाएपनि बजारमा भने मैदाको मूल्य उस्तै रहेको पाइन्छ।

एक वर्षअघि मैदा प्रतिकेजी ५५ रूपैयाँ पर्थ्यो भने अहिले बजारमा ८५ रूपैयाँमा बिक्री हुने गरेको  छ। यस्तै, आटा अघिल्लो वर्ष ५० रूपैयाँमा पाइन्थ्यो भने अहिले प्रतिकेजी ८० रूपैयाँ पर्ने गरेको छ। अघिल्लो वर्ष ६५ रूपैयाँ पर्ने सुजी अहिले एक सय रूपैयाँ पर्ने गरेको छ। चामलको मसिनो पिठो अघिल्लो वर्ष ६० रूपैयाँ पर्ने गरेकोमा अहिले बजारमा १५० रूपैयाँ पर्ने गरेको छ।

लिटरमै तेलको मूल्य बढ्यो ७० देखि ८० रुपैयाँसम्म 
पाँच वर्ष अघि भटमासको तेल प्रतिलिटर १५० रुपैयाँ पर्थ्यो। अहिले लिटरमै ७० रूपैयाँ बढेर भटमास तेल प्रतिलिटर २२० पुगेको छ। पाँच वर्षअघि काँचो तोरीको तेल प्रतिलिटर १६० रूपैयाँ पर्थ्यो अहिले ८० रूपैयाँले बढेर उक्त तेलको मूल्य प्रतिटिर २४० पुगेको छ।

पाँच वर्षअघि भुटेको तोरीको तेल प्रतिलिटर २७० रूपैयाँ थियो। अहिले उक्त तेल लिटरमै ८० रूपैयाँ बढेर ३५०  पुगेको छ। सनफ्लावर तेल प्रतिलिटर १५५ रूपैयाँ थियो। उक्त तेल अहिले लिटरमै ८५ रुपैयाँले बढेर २४० रूपैयाँ पुगेको छ। यस्तै, डाल्डा प्रतिकेजी १४० रूपैयाँ थियो। अहिले ७० रुपैयाँले बढेर २१० रूपैयाँ  पुगेको छ।

होलसेलमै ४०.७९ प्रतिशतले बढ्यो च्याउ, गोलभेडा ५० प्रतिशत
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो महिनाको तीन गते कन्य च्याउ प्रतिकेजी ९० रुपैयाँ थियो भने एक महिनामै ४०.७९ प्रतिशतले वृद्धि भएर प्रतिकेजी १५२ रूपैयाँ पुगेको छ।

अघिल्लो महिनाको तीन गते गोलभेडा (तीन प्रकारका) क्रमश:  प्रतिकेजी २२, ३५, ३५ रूपैयाँ पर्थ्यो भने एक महिनामै उक्त गोलभेडा क्रमशः प्रतिकेजी ५०, २६.३२, ३९.१३ प्रतिशतले वृद्धि भएर ४५, ४७.५०, ५७.५० रूपैयाँ पुगेको छ।

यस्तै, अघिल्लो महिना अदुवाको थोक मूल्य प्रतिकेजी ४५ रूपैयाँ थियो। अहिले प्रतिकेजीमै ५७.८९ प्रतिशतले वृद्धि भएर ९५ रूपैयाँ पुगेको छ।

अहिलेको सिजनमा प्रशस्त मात्रामा पाउने काउली पनि एक महिनाकै अन्तरालमा २२.२२ प्रतिशतले महंगिएको छ। अघिल्लो महिनाको  तीन गते ३५ रूपैयाँ प्रतिकेजी थोक मूल्यमा पाइने काउली चैत तीन गते आइपुग्दा १० रूपैयाँले महंगिएर ४५ रुपैयाँ पुगेको छ।

कागती चैत तीन गतेको कालीमाटी तरकारी बजार मूल्य अनुसार २७५ रूपैयाँ पुगेको छ। उक्त कागती अघिल्लो महिनाको तीन गते प्रतिकेजी ११० रूपैयाँ पर्थ्यो भने अहिले कागती ६० प्रतिशतले मूल्य बढेको पाइएको छ।

५१ प्रतिशतसम्म बढ्यो फलफूलको मूल्य
एक महिनामै फलफूलको मूल्य ५१ प्रतिशतसम्म बढेको छ। अघिल्लो महिनाको तीन गते अम्बाको थोक मूल्य प्रतिकेजी ११० रूपैयाँ थियो। उक्त अम्बाको मूल्य ५१.११ प्रतिशतले बढेर प्रतिकेजी २२५ रूपैयाँ पुगेको छ।

अघिल्लो महिनाको तीन गते कालीमाटी तरकारी बजारमा केराको थोक मूल्य प्रतिदर्जन ११० रूपैयाँ पर्थ्यो। एक महिनामै उक्त केरा दर्जनमा २५ प्रतिशतले वृद्धि हुँदा प्रतिदर्जन १४६.६७ रुपैयाँ पुगेको पाइएको छ।

एभोकाडोको थोक मूल्य अघिल्लो तीन गते ४५० रूपैयाँ थियो। एक महिनामै १८.१८ प्रतिशतले बढेर ५५० रूपैयाँ पुगेको छ। यस्तै, अघिल्लो महिनाको तीन गते स्याउ क्रमशस् प्रतिकेजी १९३.३३, २७०  रूपैयाँ पर्थ्यो भने एक महिनामै स्याउको मूल्य क्रमशः ९.३८, २.४१ प्रतिशतले बढेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *