काठमाडौंः नेपाली सेनाका उपरथी प्रेम शाहीमाथि छानबिन गर्ने क्रममा थप दुई सैनिक अधिकारीमाथि जंगीअड्डाले छानबिन थालेको छ।
शाहीमाथि छानबिन गर्न उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वाइरीले दिएको सिफारिस अनुसार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक अदालत गठन गरेका छन्। त्यसले उपस्थित गराउन भनेपछि प्राड विवाकका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिम्सिनालाई हाजिर गराइएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।
‘आर्थिक अनुशासनसम्बन्धी छानबिनका क्रममा उहाँहरुमाथि पनि छानबिन गर्नुपर्ने देखिएपछि बोलाएका हौं’, भण्डारीले भने, ‘उहाँहरुको गतिविधि सैनिक अनुशासन विपरीत भएन भन्ने हो।’ सैनिक स्रोतका अनुसार शाह र तिम्सिनालाई उपरथी शाहीलाई सघाएको आरोप छ। केही दिनअघि अनुसन्धान टोलीले उनीहरुको मोबाइल समेत नियन्त्रणमा लिएको थियो।
उपरथी शाहीलाई सेनाले ४ पुस २०७९ मा ५८ वर्षे उमेर हदका कारण २० पुसदेखि अवकाश हुने भन्दै पत्र थमाएको थियो। तर, उनले आफ्नो जन्ममिति गलत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिए। सेनाको आन्तरिक समितिले पनि उनको जन्ममितिमा त्रुटि भएको भन्दै नागरिकता अनुसारको जन्ममिति कायम गर्न सिफारिस गरेको थियो।
Leave a Reply